सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

May 31, 2006

एकदिन नारद कान्तिपुर पुगि गया

ऋतुराज

एकदिन नारद कान्तिपुर पुगि गया दर्शन म गर्छु भनी
राजा त्याहीं थिया पर्‍या चरणमा राजन कि जय होस् भनी ।
नारद् विन्ती गर्‍या जसै निकट गै विँणा विर्साईकन
गाथ्मा मंगल छैन कि किन हजूर वेचैन देख्नु तन ।

नारद्का यी कुरा सुन्या जसै नृपजीले बोल्या विचारीकन
हे नारद् के कहूँ परेँ सकसमा थिर् छैन मेरो मन ।
देश्भरका सब जन् थिया चरणमा रैतीसरीका थिया
ऐले ती सबजन् बन्या रिपुसरी राज् छाड्न नारा दिया ।

मेरा सैन्य फूली पनि हरी लिया खोस्या हतियार् पनि
कर तोक्न्या अझ भन्दछन् जमीनमा त्यस्तै तलव्मा पनि ।
गाउँथ्या गीत सब् उठेर लहरै श्री पाँच की जय भनी
झुक्थ्यो शिर् सबको समस्त जगमा ख्वामित भन्थ्या उनी ।

ऐले सब् कसरी भया रिपुसरी चिन्तित यसैमा म छुँ
भोक् निन्द्रा पनि छैन कत्ति तनमा साह्रै पीडामा म छु ।
ख्वामित्का यी कुरा सुनेर मुनीले आँशु बगाया जसै
मन्मा सब् गुनी ली सकेर उनले जुक्ती फिराया तसै ।

हे राजन् प्रभूका थिया अघि-पछि ती सब् विभिषण भया
त्यस्ताका भरमा कहाँ हजुरले राज्पाठ गर्नुभया ।
छन् बैरी प्रभूका सबै धरतीमा क्वै छैन आफ्नो जन ।
वात् लागि सही बस्नु हुन्न नृपले इज्जत् विगारीकन ।

स्वर्गैमा पनि भन्दछन् हजूरमा वंशै विनासी भनी
ह्याँ छन् झन् सब देखन्या नजरले सकिन्न संख्या गनी ।
त्यस् कारन म त भन्छु हे नृप हजूर् स्वर्गै सवारी हुनोस्
वागी भै रिपुका वरी-परी बसी गाली कसोरी सुनोस् ?

स्वर्गैमा पनि मिलन्या कति कति रंभा अनि उर्वसी
पारस्का पनि वितन्या छन घडी कालो पदार्थै चुसी ।
त्यसकारन् नगरौं विलम्व अहिले यो हो सुनौलो घडी
ख्वामित्का सबजन् सवार हुनुहोस् पुष्पक विमानै चढी ।

यति जुक्ती दिया र नारदजीले पुष्पक मगाया जसै
त्यैबेला हिटीमा अचम्म हुन गो सब् जन्ले घेर्‍या तसै ।
ती थिया कति ता अनन्तपुरका नर्तक गणिकाहरू
थिया कोर्इ् भरजन्म दाससरीका भान्से धुपौरेहरू ।

कोइ थिया हलिया कति त घँसिया कोही पूजारी थिया
हुल् का हुल् जब घेरियो हिटीभरी नारद् अचम्मै पर्‍या ।
भन्छन् कोही मलाई ख्वामित लिनुस् जान्छु विमानै चढी
रून्छन् कोही बनी शिशुसरी टेक्दै निगाले छडी ।

राजाका संगमा वस्याँ जुनीभरी कोही ता भन्छन् यसै
विगार्न्या गिरी हुन् कमल्-रमेश हुन् भन्दा रहेछन् तसै ।
यस्ता बात् ऋषीले सुनेर मनमा गुन्दा भया क्वै छिन
गर्न्याहुन्न विलम्ब यस नरकमा मन्मा उठी गो घिन ।

यै कुरा मनमा लिएर मुनीले फेरी म आउँला भनी
विदा ली कन फुत्त पुष्पक चढी एक्लै गए ती मुनी ।
यै रित्ले बुझनु समस्त जनले यो ग्रन्थ राजायण
लेख्न्या म ऋतुराज् पनि लिई विदा जाँदो छु आफ्नो गण ।

May 27, 2006

के थाहा भोली

सुजित सिग्‍देल

शान्तिका प्यसमा सुकेका कण्ठ्हरु हो
नरसंहारका दृश्यले थाकेका आँखाहरु हो
एकै छिन पेट भरि भरि शान्ति पिउ
एकै छिन आँखाहरुलाई बिश्राम देउ
के थाहा भोली कस्तो बनेर आउँछ ।

छोरालाई धमिलो प्रकशमा भेटेका आमाहरु हो
श्रीमान सँग हतारमा पिरती साटेका श्रीमतीहरु हो
एकै छिन मतृबत्साल्यले छोरालाई आङलो हाल
एकै छिन श्रीमान सँग पेट भरि भरि प्रेम साट
के थाहा भोली कस्तो बनेर आउँछ ।

छोरा गुमाएका धेरै आमाहरु हो
सिन्दुर पुछिएका धेरै बिधुवाहरु हो
आफ्नै आँखाले एकै छिन अरु आमाहरु हेर
पति बियोगमा एकै छिन निर्धक्क रोउ
के थाहा भोली कस्तो बनेर आउँछ ।

बाबु-आमाका प्रेमबाट बन्चित टुहुरहरु हो
धेरै सपनाहरु बाशी बनाएका युवाहरु हो
अब शोकलाई शक्तिमा बादल
एकै छिन सपनाहरुबाट बिउँझ
के थाहा भोली कस्तो बनेर आउँछ ।

हजरौ लडकुका चित्कर सुनेका जननेताहरु हो
नगरिकका रगतले रङिएका शसकहरु हो
कदाचित अब आहंकारको मदिरा नपिउ
कदचित अब आफ्ना बाहुहरु संघुरो नवनाउ
के थाहा भोली कस्तो बनेर आउँछ ।
के थाहा भोली कस्तो बनेर आउँछ ।।
सिड्‌नि, अष्‍टेलिया

May 24, 2006

भोट कसलाई ?

- जैकी मोजाहु

घुर ताप्दैछन्
गफ मार्दैछन्
यसपाली बिचला टोलको पालो
पहाडियाहरूले धेरै राज गर्यो
हैन म उठ्दैछु बाजे
आबिद, तिमी मुसलमान भएर रक्सी खान्छौ
केटाहरूले तिमीलाई भोट दिंदैनन्
बरु बिचला टोलको अछ्मित चौधरी जित्न सक्छ
उसैलाई जिताऔं
एउटा नाथे वडाध्यक्षमा जित्नलाई कति भौट चाहिन्छ र ?
म बहुमतले जित्छु
थारुलाई जिताउने ?
बरु कमल ढकाललाई जिताइ दिन्छु ।
तर म थारुलाई भौट हाल्न दिन्न ।
चर्का चर्की बहस ।।।।।।।।।
एउटा होचो कदको भकभके मान्छे बोल्छः
ययोयो ममुमुसलम्मान, प्पपहाडिया, थ्थथाथारु क्केके हो ?
स्ससबै हुन् म्मामान्छे ।
क्ककिकि त ब्बबहिष्कारररर्,
क्ककिकि त भोभभोट योयोयोग्यललालाई
जजजजजसलाई उउउउउठ्नु छ उउउठ्,
ब्बबस्नु छ ब्ब्बबस्,
म्म्मम त ग्गगएँ,
म्मम योयोयो घुर प्प्पपञ्चायतती न्न्नै ब्बबहिष्कार ग्गगर्छु

नोटः घुर पूर्वी तराईतिर बोलिने भाषामा गाउँघरमा खह्र, गुइठा आदि जम्मा गरी त्यसमा आगो सल्काईकन जाडोमा आगो ताप्ने चलन छ । यसलाई घुर भनिन्छ । घुरको वरिपरि मान्छेहरू जम्मा भई आगो ताप्दै दुःखसुखका तीता मीठा कुराहरू गर्छन् ।

May 22, 2006

जनता सम्प्रभू भएकोमा स्रष्टा खुशी

Filed under: विविध

काठमाडौं- जनआन्दोलनबाट स्थापित प्रतिनिधि सभाले राजाका अधिकारमा व्यापक कटौती गर्दै नेपाल सरकारको घोषणा गरेकोमा स्रष्टाहरु पनि खुशी भएका छन् ।नागार्जुन साहित्यिक प्रतिष्ठानले शनिबार बिहान भृकुटीमण्डपको खुल्ला चौरमा आयोजना गरेको शुभप्रभात काव्य गोष्ठीमा सहभागी युवा स्रष्टाहरुले निरकुंश राजतन्त्रलाई पूर्ण स्पमा निमिट्यान्न पार्न जोड दिए । साहित्यकार दाहाल यज्ञनिधि दाहालले नागरिक निष्ठाका लागि स्रष्टाहरुले निरन्तर लाग्नुपर्ने वताए । युवा समालोचक देवी नेपालले अबका सिर्जनामा सचेत र कर्तव्यनिष्ठ पक्ष प्रखर हुनु जरुरी भएको औल्याए । प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालले लोकतान्त्रिक सिर्जना यात्रा जारी राख्ने वताए । कार्यक्रममा राम विनय, सुशीला प्रधानाङ्ग, डम्बर घिमिरे, युवराज काफ्ले, रोजन राई, प्रेम सिलवाल, माधव निर्दाष, सुशीला शर्मा, शिवहरि पाण्डे, सुरेश सुवेदी, आनन्दराम पौड्याल, गौरी दाहाल, घनेन्द्र ओझा, एस. वी. विवेक, राधा कँडेल आदिले लोकतान्त्रिक कविता प्रस्तुत गरे ।

May 14, 2006

जिन्दगीका पाईलाहरु

वाउले नपढेर दुख पाए
मैले पढेर दुख पाए
वाउ स्वदेशमा हलो जोत्दैछन
म हङकङमा टाउको जोतिरहेछु
म कहिले चिङीको वगरमा उफ्रन्छु
कहिले लोकमा चाउ वोर्डरमा टोलाउछु
कहिले लाईचीकोक पाखामा सुस्ताउछु
कहिले हराउछन मेरा थकित पाइलाहरु
यी विरानो शहरमा लम्पसार भएर ।।
साँच्चै,
वादल भित्र निरन्तर उडि रहेको काग झै
मनको खेतमा म जोतिरहेको छु निरन्तर
तर भेटिदैन कहि छेउ र कुना
गन्तव्यहीन भयो जिन्दगीका पाईलाहरु
तर पनि हिम्मतको लौरो टेक्दै
अन्यौलको भुमरी पन्छाउदै
अस्पष्टताको पोको फुकाउदै
असफलताको प्रश्न जाँचिरहेछु
जोड,घटाउ,भाग र गुणा सवै गरे ।।
अनि निष्कर्ष,
जिन्दगीका पाईलाहरु
महत्वकाँक्षाको वलले तान्दै
अलिकति तन्केर अगाडि जान्छ
र्˚र्केर फेरी थन्किन्छन पुरानै ठाउमा
आशाको घामले उचाल्दै
अलिकति माथि चढ्छ
झरेर फेरी अड्किन्छ पुरानै सतहमा ।।
यसरी,
हरेक पटक शून्यवाट शुरु हुन्छ
र छोटो यात्रापछि फेरी
शून्यमै आएर टुँगिन्छ
मेरो जिन्दगीका पाईलाहरु
जिन्दगीका पाईलाहरु ।।
देव गुरुङ

May 12, 2006

सावधान !

त्यो ठुलो घर भित्र
लोकतान्त्रिक गणतन्त्र,
संविधान सभाको निर्वाचन,
प्रतिनिधि सभा,
मौलिक हक-अधिकार,
जनताको र्सवभौमसत्ता,
चुनाव र भोट,
संसद र सांसदहरु,
मंत्री र मंत्रालयहरु छन् ।
त्याँ
सुख-शान्ति,
अमन-चैन,
विकास,
सहयोग,
अवसर,
समानता र
सुरक्षाका योजनाहरु पानि थुनिएका छन् ।
तर,
त्यो ठुलो घरको गेटैमा
एउटा कालो बोर्डमा लेखिएको छ-
‘सावधानी पूवक प्रवेश गर्नु होला,
प्रतिगमनका मतियारहरुले टोक्न सक्छन् । ‘

चन्द्र गुरुंग

गोर्खा हाल काठमाण्डौ

May 10, 2006

कुकुरको पुच्छर

ऊ कुकुरको पुच्छर हो,
चौध वर्षढुंग्रामा हाल्दा पनि सोझिएन
ढुंग्राबाट निकाल्दासाथै
पुरानै आकार लियो ।
सोझिएहोला भन्ने
धेरैले सोंचेका थिए
तर त्यो भ्रम ठहरियो,
किनभने त्यो कुकुरको पुच्छर हो ।
कुकुरको पुच्छर
जो जन्मजात घुमेको हुन्छ
कुकुरमा टाँसिए पनि
र, कुकुरबाट अलग भए पनि
त्यसैले उसलाई
बेकार छ ढुंग्रामा हाल्न
र्ब्यर्थ छ सोझाउन
त्यसैले ऊ फुत्त गयो
उतैका माखा धपाउन
उतैको कलो खान
उतै रमाउन ।
हो, त्यो त्यहीँको पुच्छर हो
त्यसको नसा-नसामा
उतैको कलो टाँसिको छ
उतैको चे..चे.. भरिएको छ
उसले उतैको रखबारी गर्छ
उसले उतैको गुन गाउँछ ।
हो, उसलाई एकपटक
मालिकले बेस्सरी कुट्यो
कलो खान नदिएर लखेट्यो
ऊ रूँदै बस्तीमा आयो
बस्ती टिठायो
मल्हमपट्टी गर्‍यो
मालिकको हैन, (more…)

May 7, 2006

घडी, खोका र चित्रकला

चल्नु घडीको धर्म हो । समय बताउन घडीले चल्नुपर्छ । रोकिनु पनि घडीको धर्म हो । अहिले एउटा घडीले रोकिएर समय बोलेको छ । तर, रोकिएर पनि त्यो गतिशील छ ।२०६२ चैत ३० गते लोकतान्त्रिक स्रष्टा, कलाकारहरू गुरुकुलमा भेला भएर निरङ्कुश राजाविरुद्ध सडकमा ओर्लिए । पुरानो बानेश्वर चोकमा कविहरूले कविता पढ्दै गर्दा राजाका मतियारहरूले कवि, कलाकारहरूमाथि लाठी, अश्रुग्यास र गोली प्रहार गरे । यही बखत कलाकार देशभक्त खनाललाई निर्ममतापूर्वक लाठी प्रहार गर्दा उनको घडी हातबाट उछिट्टएिर भुइँमा खस्यो र चर्कियो । घडी भेट्टाए फोटोपत्रकार चन्द्रशेखर कार्कीले । तत्कालीन समयलाई सङ्केत गर्दै घडी अझै टक्क रोकिएको छ । समयको गति बोल्न घडी अझै रोक्किइरहनेछ । यही घडी किरण मानन्धरको क्यानभासमा टाँसिएर जनआन्दोलन ०६३ लाई प्रतिविम्बित गररिहेको छ । क्यानभासमा कवि विक्रम सुब्बाले लेखका छन्, “उसले गर्नु गर्‍यो, अझै केके गर्ने हो, होसियार !”

एउटा सर्जकले बोकेको समयमाथि जब निरङ्कुशताको लाठी बजि्रयो, घडी टक्क रोकियो । मानौँ, घडीले जाहेर गर्दै थियो, निरङ्कुशताको अन्त्य त्यहीँबाट हुँदैछ । आकाशमा कालो बादल छाएको छ । भुइँ रातो छ । परविर्तनकामी मुट्ठी उठेको मानिसका अनुहार पीडा र आक्रोश मिसिएर आँ… बाएको छ । बीचमा रातो रङको ‘क्रस रोड’ जस् तो छ । कलाकार किरण मानन्धरको रङ र कुचीले रङ्गिएको क्यानभासका बीचमा समय अङ्कित छ ऐतिहासिक नेपाली जनआन्दोलनको । क्यानभासमा टाँसिएर त्यो गतिशील चर्किएको ‘क्यू एन्ड क्यू’ घडीमा टक्क रोकिएको छ समय १२ बजेर १९ मिनेट १० सेकेन्डमा । जतिखेर देशभरका सडक, चोक र पाखाहरूमा नागरकिहरू समुद्रको ठूलो छालजस्तै शक्ति लिएर ओर्लिएका थिए, सायद संसारकै जनआन्दोलन र स्वतन्त्रताको इतिहासमा यस किसिमको पहिलो कलात्मक दस्तावेज हो समय टाँगिएको चित्रकला । यतिखेर नेपाली जनआन्दोलन र लोकतन्त्रको इतिहास चित्रकलाले बोल्दैछ ।

विश्व इतिहासमा चित्रकलाले बोल्ने युद्ध, राजनीति र सामाजिक इतिहासका उदाहरणहरू धेरै छन् । पिकासोको ‘गोएर्निका’ नामक चित्र विश्वमै सबैभन्दा चर्चित छ । सन् १९३७ मा जर्मनले स् पेनको गोएर्निका भन्ने ठाउँमा आक्रमण गर्दा हजारौँ मानिसहरू मारएि । त्यो क्रूर र दानवीय घटनालाई कुची र रङको माध्यमले क्यानभासमा ऐतिहासिक दस्तावेज तयार गरे पिकासोले । आज उक्त दस् तावेज विश्वकै एउटा उल्लेख्य नमुना हो । उक्त चित्रको सबैभन्दा ठूलो महानता उनले स्पेनको त्यस नरसंहारलाई कलात्मक र सुन्दर ढङ्गले अभिव्यक्ति गरे, जसले गर्दा मानिसहरूलाई चित्र हेररिहुँजस्तो लाग्ने तर युद्धविरोधी भावना जाग्ने किसिमको छ । पश्चिममा यस किसिमका दस्तावेजहरू धेरै छन् । माने, मोनी, सिस्ली, बेर्गासजस्ता कलाकारहरूले राजनीति र सामाजिक परविर्तनलाई चित्रकलामा सुन्दर अभिलेख गरेका छन् । तर, लामो समयसम्म दरबारवरपिर िहुर्किएको नेपाली चित्रकलाको संसार ०६३ सालको जनआन्दोलनसँगै केही फराकिलो र लोकतान्त्रिक भएर देखापरेको छ ।

गते वैशाख १९ गते गुरुकुल पुरानो बानेश्वरमा दर्जनौँ कवि र कलाकारहरू भेला भएर जनआन्दोलन ०६३ लाई चित्रमा उतारे । कविहरूले क्यानभासमा राजनीति, आन्दोलन र समाज झल्कने कविताका पङ्क्ति कोरे । त्यही पङ्क्तिसँगै कलाकारहरूले क्यानभासमा रङ र कुचीले आन्दोलन छेडे । अभि सुवेदीले लेखे, “आकाशबाट खस्छ, आँखाबाट निस् कन्छ, शब्दहरूमा चढेर निर्वन्ध दौडन्छ मुक्ति रोक्न नखोज ।” श्यामलको कवितालाई सुनील पोखरेलले लेखे, “प्रजातन्त्रको बन्दुक चनाखो हुन्छ । ” किरण मानन्धरले शब्दहरूसँगै क्यानभासमा कुची र रङले आन्दोलनको दस्तावेज बनाए । सरुभक्तले लेखे, “सागर उर्लेका मनहरू जिन्दावाद !” विष्णुविभु घिमिरेले लेेखे, “उठ्नेहरू कहीँबाट पनि उठ्छन्, ब्यूँझनेहरू कहीँबाट पनि ब्यूँझन्छन् ।” नारायण ढकालले लेखे, “तानाशाह र डर नयाँ व्याकरणका पर्यायवाची शब्द ।” यी सबै शब्दहरूसँग उत्तम नेपाली मिसिए । त्यसैगरी डा तुलसी भट्टराई, डा बेञ्जु शर्मा, विक्रम सुब्बा, नयनराज पाण्डे आदिका कविता र रमेश खनाल, शान्तकुुमार श्रेष्ठ, विधाता केसी, ज्ञानेन्द्र विवश, सागर मानन्धर, सम्झना राजभण्डारी, विक्रान्त श्रेष्ठ, रवीन कोइराला, पनिशलाल श्रेष्ठ, चन्दा श्रेष्ठ आदिका कुची र रङले जनआन्दोलन ०६३ लाई प्रतिविम्बित गर्‍यो । जसरी स्रष्टा, कलाकार निरङ् कुश सत्ताका विरुद्ध प्रत्यक्ष रूपमा विचार र गतिविधि लिएर सडकमा ओर्लिए, थाहा लाग्यो आन्दोलनपछि अन्य धेरै आन्दोलनहरू बाँकी हुँदा रहेछन् । त्यसैले किरण मानन्धरको क्यानभासमा रमण घिमिरेले लेखे, “आन्दोलन सकियो र फेर िआन्दोलन सुरु भयो ।” हो, हरेक आन्दोलनपछि सर्जकहरूको महत्त्व झन् बढेर जाँदो रहेछ । ती राजनीतिक परविर्तन, घटना र आन्दोलनको सिर्जनात्मक अभिलेखका निम्ति, जसले समय बोलोस् । विश्वको इतिहासलाई ताजा राख्ने सबैभन्दा ठूलो दस्तावेज भनेको सिर्जना नै हो । सङ्ग्रहालय, ग्यालरी वा समाचारहरू एउटा निश्चित समयपछि नष्ट हुने डर रहन्छ तर सिर्जनात्मक अभिव्यक्तिले लामो कालखण्ड पार गर्न सक्छ, जसले समय बोकेको होस् । जस्तो, नाटक, रङ्गमञ्च, चित्रकला, चलचित्र वा अन्य साहित्य । हजारौँ वर्षपछि पनि हामी, हाम्रो इतिहास, आन्दोलन र परविर्तनलाई बचाइराख्ने असल अभिलेखहरू हुन् । (more…)

May 4, 2006

खवरदार नेताहरु

छेपारो र मुसाले रजाई गरिरहेका
झयाल,ढोका,सिलिङ र भित्त भरी
माकुराको जालोले सजाएका
कुर्सी टेबलहरु धुलोले सिँगारिएका
धारा १२७ को धारमा परेका
खण्डहर जस्तो सँसद भवनमा
अव फेरी निकै हल चल हुदैछ
दौरा सुरवालका भीड लाग्दैछ
खवरदार नेताहरु,
यो सँसद पुनर्स्थापित भएको
तपाईका महाराजधिराज सरकारलाई
कुनै वौलाहा कुकुरले टोकेर होइन
फेन्सिडिलको नसाले झुम भएर होईन
रातको साढे एघारमा रक्सीले मातेर होईन
अनि कसैमाथि दया माया पलाएर होइन
यो उपलव्धि,यो उपलव्धि
लाखौ लाख साहसी जनताले घाँटी सुकाउदै
भोको पेट र खाली खुट्टामा आन्दोलन गर्दै
हजारौ हजार वहादुर छातीले गोली थाप्दै
बीसौ वीर अमर सपुतहरु शहीद भएर
देशभरी रगतको खोला वगाएर
निरङकुशको घुँडो टेकाएर प्राप्त भएको हो
खवरदार नेताहरु,
कुर्सीको भाग वण्डामा फेरी आपसमा नलडनु
ढुम्रोको पुच्छरको उखान कत्ति नदोहोराउनु
दरवारको हड्डीमा रयाल चुहाएर नफस्नु
प्रत्येक पाईलामा जनताको जीजिविषा नविर्सनु
निशर्त सँविधान सभा चाँडै गराउनु
अनि जे जे गर्र्छौ राम्रो गर्नु तर चाँडै गर्नु
अहिले फलाम तातेको वेलामा हान्नु
देश वनाउने मौका विलकुल नगुमाउनु ।।

देव गुरुङ

May 2, 2006

फेरि वने टुलुटुलु हेर्ने

वसन्त खरेल

एकादेश्मा एकजना धुत राजा थिए
पढ्न धेरै नसकेका जम्मा थिए वीए ।
थिइन् उन्की मोटी-मोटी घ्याम्पोजस्ती रानी
छोरी पनि त्यस्तै थिइन् थेन राम्रो बानी ।

छोरो थियो भुसत्रि्रे खान्थ्यो रक्सी जाँड
मान्छे हान्दै सडकमा हिन्थ्यो बनी साँढ ।
रैती भन्दै मानिसलाई ढोगाउँथे खुट्टा
परम्परा यही भन्दै गाँस्थे फूल बुट्टा ।

एक दिन लिए उन्ले आफ्नो हात्मा शासन्
घुम्न थाले गाउँ बेसी गर्न थाले भाषन् ।
सक्तिन म भन्न थाले हेन टुलुटुलु
जनताको अधिकारलाई निले खुलुखुलु ।

हुक्के, चम्चे, धुपौरेलाई मन्त्री हाकिम् तोके
विरोधीलाई खोजी खोजी संगीन् गोली ठोके ।
कैले लूटे मोवाइल् एप\mएम् कैले टेलिफोन
हैरान पारे जनतालाई फेरी-फेरी “टोन” ।

साह्रै भयो अत्याचार सिंगो देश माथि
सात दल् र माओवादी बने साथी-साथी ।
लाग्न थाले नारा उन्लाई आर्यघाट लाने
भन्न थाले छोड गद्दी कूलको रगत खाने ।

अठार दिन् पर्‍यो घच्ची जनता र उन्को
हारे बरै थाले रून सातो उड्यो उन्को ।
भन्न थाले जनतालाई रूँदै धुरूधुरू
दानापानी दिए पुग्छ खान्छु खुरूखुरू ।

धुत राजा बने फेरि टुलुटुलु हेर्ने
अरू अब के हुन्छ है धुतलाई बेर्ने -
साङ्लो किनी जनताले दिए नेतालाई
बुझ्न कति सकछन् लौ है देश्को ब्यथालाई —






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here