खवरदार नेताहरु
छेपारो र मुसाले रजाई गरिरहेका
झयाल,ढोका,सिलिङ र भित्त भरी
माकुराको जालोले सजाएका
कुर्सी टेबलहरु धुलोले सिँगारिएका
धारा १२७ को धारमा परेका
खण्डहर जस्तो सँसद भवनमा
अव फेरी निकै हल चल हुदैछ
दौरा सुरवालका भीड लाग्दैछ
खवरदार नेताहरु,
यो सँसद पुनर्स्थापित भएको
तपाईका महाराजधिराज सरकारलाई
कुनै वौलाहा कुकुरले टोकेर होइन
फेन्सिडिलको नसाले झुम भएर होईन
रातको साढे एघारमा रक्सीले मातेर होईन
अनि कसैमाथि दया माया पलाएर होइन
यो उपलव्धि,यो उपलव्धि
लाखौ लाख साहसी जनताले घाँटी सुकाउदै
भोको पेट र खाली खुट्टामा आन्दोलन गर्दै
हजारौ हजार वहादुर छातीले गोली थाप्दै
बीसौ वीर अमर सपुतहरु शहीद भएर
देशभरी रगतको खोला वगाएर
निरङकुशको घुँडो टेकाएर प्राप्त भएको हो
खवरदार नेताहरु,
कुर्सीको भाग वण्डामा फेरी आपसमा नलडनु
ढुम्रोको पुच्छरको उखान कत्ति नदोहोराउनु
दरवारको हड्डीमा रयाल चुहाएर नफस्नु
प्रत्येक पाईलामा जनताको जीजिविषा नविर्सनु
निशर्त सँविधान सभा चाँडै गराउनु
अनि जे जे गर्र्छौ राम्रो गर्नु तर चाँडै गर्नु
अहिले फलाम तातेको वेलामा हान्नु
देश वनाउने मौका विलकुल नगुमाउनु ।।
देव गुरुङ


