“सेरमोनियल” को गुन्द्रुकमा जात फाल्दै नफालौं हजुर
“सेरमोनियल” को गुन्द्रुकमा जात फाल्दै नफालौं हजुर
दूध खुवाएर विषालु र्सप फेरि पाल्दै नपालौं हजुर
चलाउन नजाने आफ्नै घुँडा ताक्छ बञ्चरोले
कंश बचाउने कपटी अभियान थाल्दै नथालौं हजुर
सन्ततिका लागि बन्न सक्छन् म्युजियमका रमिता
हतारमा तानाशाहका सालिक ढाल्दै नढालौं हजुर
सानो झिल्कोले पनि फेरि गाउँहरू जल्न सक्छन्
शान्ति-वार्तामा दम्भको आगो बाल्दै नबालौं हजुर
विवेकले मात्रै जित्न सकिन्छ जनताको विश्वास
हतियार उन्मादले विरोधीको मुख टाल्दै नटालौं हजुर
पचाउन नसकेर उल्टै बान्ता आउन सक्छ फेरि
संविधानसभामा राजतन्त्रको गन्ध हाल्दै नहालौं हजुर
नवनिर्माणको बेला हो यो होसियारी साथ हिंड्नुपर्छ
झुक्किएर पनि दरबारतिर पाइला चाल्दै नचालौं हजुर
मेचीनगर-२, झापा


