सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

June 7, 2008

मान्छेहरु

आसुको भेल बगाउदै खसम खाने ले ..
हाँस्दै हाँस्दै बिदा गरे को पनि त देखियो
पाउ भरी माया को भिख माग्ने ले
उल्टै दान दिएर हिंडेको पनि त देखियो
संखा मानी मानी देउता छुवाएर खसम खुवाउने ले

उलटै बिसवास् घात गर्दै कसम तोडेको पनि त देखियो

बाहना गर्छन यहाँ मान्छे हरु
आफु ले चाहेजस्तो भएन भने
उपाहास गर्छन् यहाँ मान्छे हरु
आफु ले भने जस्तो भएन छोडि दिन्छन यहाँ साथ हरु
आफु ले भने जस्तो भएन भने

कृष्ण पोखरेल मोरङ दुलारी -८
हाल -साउथ ईराक नासेरिया

May 7, 2008

भित्ते राष्ट्रपतीको अवतरण

बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्नेहरु
ब्यालेट बक्सको मोहर देखी सैधान्तिक पराजय भोग्दै छन
बिजय उत्सव सँग सँगै धसिएको सिन्दुर र मालाहरु
पन्ध्र हजार निर्दोश नेपाली रगतले बनेको खुनी दाउपेचका सफलताहरु
कायल छन भित्ते राष्ट्रपती यती बेला आफ्नै झुटको पर्दा भित्र
चुनावी आश्वासन एउटा रणनिती हुनसक्छ उस्को लागि
सोझा जनता झुक्काउने ५२ सुत्रिय मागपत्र जस्तै
जानार्दनले डाडु पन्यो दि सके ,
अब त्यो ५२ सुत्रिय माग पुरा गर आँफै

अब सडक तिम्रो सदन तिम्रो जंगल पनि त तिम्रो
अब सपना तिम्रो कार्यपत्र तिम्रो संविधान पनि तिम्रो ढंगको
एक युगको एक दिन तिम्रो पोल्टा मा परी सकेको छ
अब भित्ते राष्ट्रपती होइन कोठे राष्ट्रपती बन्छौ होला नै

आश्वासनको पोका फुकाउ तिमी आँफै नै
स्विजरल्यान्ड मलेसिया भिएतनाम वा कम्बोडिया
सपनाको बाटोमा छलाङ मार तिमी आँफै नै
पुर्वी युरोप क्युबा , उत्तर कोरिया वा नयाँ नेपाल नै
भित्ते राष्ट्रपतीको अवतरण हामी पर्खि रहन्छौ
नेपालीले सम्पूर्णता गुमाएको यो १७ बर्ष सम्झिरहन्छौ
सान्ती क्षेत्र मेरो देश बुद्धको मेरो देश शिवको मेरो देश
रोग भोक र सोकले जर्जर भएर मारकाट हत्या हिंशाले जरा हाली
नयाँ शिवत्वको रुप मा हिशा स्विकारेका छौ,प्रतिहिंशाको साटो

अझ पनि हामी त सान्तीका पूजारी हौ
साच्चै बन्दुक झुक्ने आश मा मोहोर लगाइदिएका छौ
चाहे तिमी हाम्रो आस्थाको गद्दी त्याग
भित्ते राष्ट्रपती को अवतरण पस्चात त्यो आस्थाले पुन शिवत्त्व प्राप्त गर्छ

शिवत्व संसारका खुशीका लागि विष पिउने हरुले नै प्राप्त गर्छन
मेरो आस्थाको गद्दीले पनी असक्षमका टिका लगाउनेहरुका विष पिएका हुन
त्यसैले गद्दी नै त्याग्नु परे पनि हामी खुशी छौ
ईतिहास साक्षी छ ,हामी जनचाहना बदल्न बन्दुक तेर्साउन सक्दैनौ
जनताको नाम मा जनता लाई अधकल्चो अधमरो छाडन सक्दैनौ ।

- अशोक ” खलान को मान्छे ”
ड्राम्स्टाड जर्मनी

December 23, 2007

मेरो छोरो

छत्र के सी
त्यो काले मोरो कस्तो कस्तो ?
अनुहार हेर्‍यो शिशाको लिपि जस्तो
रूपरङ्ग हेर्‍यो बौलाहाको ढिपी जस्तो
जाँघ हेर्दा चिसोचिसो हिउँ जस्तो
बेहोरा हेर्दा भएभरका बङ्गगारा झारिदिउँ जस्तो

भने जति पुर्‍याइदिए जहिले पनि राइट भन्छ
अलिकति रिस उठे बाबुसँगै सिङ्गल फाइट भन्छ
पाखुरा हेर्दा धमिराले खाएको खम्बा जस्तो
गाला हेर्दा चमेराले खाएको अम्बा जस्तो
मेरो छोरो खै कस्तो कस्तो ?
सर्वश्व नै सुम्पे पनि लक्ष्मीको बासै नहोला जस्तो
सरस्वती नै सुम्पे पनि प्रवेशिका पासै नहोला जस्तो
कहिले लाग्छ वडासाहेवको पाल्तु नोकर जस्तो
कहिले लाग्छ पप्लुको फाल्तु जोकर जस्तो
र्झलक्क हेर्दा हाँडीको पिँध जस्तो
सर्लक्क हेर्दा झण्डाको बिंड जस्तो
अझै के के पो देखिन्छ खै कस्तो कस्तो
कहिले लाग्छ भक्कुको राँगो जस्तो
कहिले लाग्छ फलेदारको हाँगो जस्तो
मेरो छोरो खै कस्तो कस्तो ?
दुधे दाँत नझर्दै ठिटी भनेपछि हुरुक्कै हुने
अगाडि पर्दा भने होस हराएर लुरुक्कै हुने
आकाशमा उडाइदिए असिनै बर्साउला जस्तो
एक्लाएक्लै कतै फेला पारे दिउँसै तर्साउला जस्तो
मेरो छोरो खै कस्तो कस्तो ?
मैले भनें, सबै कुरा बुझ्नु पर्छ तैले
मुस्कुराउदै भन्छ, बुझेकै छु मैले
उल्टै छोरो मलाई भन्छ तपाईं पनि कस्तो कस्तो ?
मेरो छोरो खै कस्तो कस्तो ?

April 8, 2007

हेप्छौ किन ?

मन्जील दिप शुब्बा (गरिव)

हेप्छौ किन जिउदा म सडकको पेटी हरुमा!
मैले पनि त देश रुदा आशुले आँखा धोएको छु!!
थुक्छौ किन मेरा ति बाच्ने आधार हरुमा!
मैले पनि त भोको पेट र लाज छोपेकै छु!!

निधार भरि तिमीले अन्न र अवीरको टिका लाउदा!
रगत र पसिनाले मुछिएको माटोको टिका लाएकै छु!!
रमाउदा तिमीले बाहिरी सस्कृतिहरुमा!
नेपाली पन र नेपाली सस्कृतिमा नाचेकै छु!!

त्यसैले साथी खाते नभन्नु है घरि-घरि!
मैले पनि त आफ्नै संसार सजाएकै छु!!
यो भुमिमा तिमीले जस्तो गर्यौ उसै गरी!
नेपाल आमाको दश धारा दुध चुसेकै छु!!

पछारिन खोज्दा बिदेशी वर्दिका बुटहरु यहाँ!
विशालु काडा बनी नाकाभरि छेकेकै छु!!
नेपाली हुँ तिम्रै जस्तो अस्तित्व र प्रतिष्ठा छ यहाँ!
गरीबिले पिल्सिएर के भो मुटुभरि देशको माया साचेकै छु!!

आङ्सराङ् - ५ बरबोटे पाँचथर।

March 2, 2007

फूलको आवाज

दीपक जडित

ए गुलाब
जुन माटोमा टुसायौ तिमी
किन बुdmेनौ अdmै
सयपत्री पनि त्यहि माटोमा
टुसाएको हो
एकै फूलबारीमा
उहि पानीले सिंचित भएर
उहि गृष्मको
उस्तै ताप अनि
उहि हिउंदको
उस्तै शीत सहंदै
संगै हुर्किएर
संगै फूल्दा
तिमी गुलाबी भयौ र
दुनियांले तिमीलाई
गुलाबको संज्ञा दियो
किन मान्दैनौ आज तिमी
रंगको भेदले
अपहेलना गरेर
त्रि्रो नाम राखेको हैन
यदि हुंदो हो त
पंहेलै फूल्ने सयपत्रीलाई
सयपत्रीको शट्टा
पंहेली भनिन्थ्यो
एउटै फूलबारीमा
बराबर सौंदर्य र्छर्दै
सयपत्री संगै फूलीराख तिमी
अस्तित्व रक्षाको ढोंगमा
संगै हुर्किएको
सयपत्रीलाई
ब्यर्थै किन
कांढे अस्त्र प्रहार गर्र्छौ ?
सुन ए गुलाब
बनमाराले त आज
तिमीलाई मात्र हैन
सयपत्री लगायत
सबै फूलहरुलाई
पिरोलेको छ
फूलकै आवाज सुन्यौ तिमीले ?
सयपत्री भन्दैछ
ए गुलाब
कांढाले त घोच्यौ घोच्यौ
सहन्छु , मलाई टाढा नपार
सुन्दर हाम्रो यो फूलबारीलाई
छुट्याएर बिचमा पर्खाल नबार ।

February 11, 2007

दिप् आफै बल्छ

मन्जील दिप शुब्बा ,(गरिब्)

कसैले बाल्नु पर्दैन दिप् लाँई यहाँ
अन्धकार् कालो रात्रीहरुमा
जुनकीरि झै ज्योति जोगाई
दिप् आफै बल्छ

भो बजार्न पर्दैन यहाँ
अन्याय अत्याचारको बिरुद्द मा
विशाल् चटाँन् बनि
दिप् आफै बज्रन्छ

शन्देषहरु लोकत्तन्त्रका
तुफाँन् बनि छर्छन्
नाराहरु गणतन्त्रका
मेघ् गर्जन् झै गजार्छन्

रच्ने षडयन्त्रका सिर्जनाहरु
जलाई खरानी पार्छन् दिप्
थाप्ने पाषोका जालहरु
बनि करौती रेड्छन् दिप्

छ मृत्यु अभष्य उस्को
जहाँ निर अमर् छ
दिप् आफै बल्छ,जल्छ,निभ्छ
पर्दैन चित्ता मा रखि जलाऊन यहाँ
आङसराङ्-५ बर् बोटे पाँचथर्

February 10, 2007

जीवन र मृत्यु

मृत्यु त जीवन आसन्न लक्ष हो
बाँच्नेले यसलाई कुर्नै पर्छ
जीवन निर्धारित कोशेढुंगा हो
मर्न चाहे पनि यसलाई तुर्नै पर्छ ।

हामी आफैले आफैलाई ढाँटेर बाँच्न चाहन्छौं,
या आफैलाई ढाँटेर मर्न चाह्रन्छौं ।
कोही वटवृक्ष झैं शताव्दिै नाघ्दै रमाउछौं,
कोही पानी झार झैं कलकलाउदैमा बिलाउछौं
हामी बाँचुन्जेल बाँचेर बस्छौं
र शताव्दि या सोर्‍ह दिन पछि
ढल्छौ् र मर्र्छौ् ।

बाँचेकैछ - भनी चौरासी हर्ेन आउने निम्तालु भन्दा त
वैंसमा मलामी हुन आउने चोखा हुन्छन,
सुखले मोटाएका भन्दा त
दुखले खँगारिएका बढी भोका हुन्छन ।
त्यसैले आफ्नो निम्ति बाँच्न सजिलो छैन भने
अर्कोको निम्ति बाँच्न झन सारो हुन्छ
वर्त र पूजा त कष्टसाध्य शोख हो भने
श्राद्ध र तर्पणको लागि अभागी वाध्य हुन्छ ।

बाँचेकैछु भनि जनाउन पनि केही त भन्नै पर्दोरहेछ,
भएको दिन्छु भन्न पनि उठेर तम्सनृ पर्दो रहेछ
र पानीझार होस या वटवृक्ष दुवैले
केही दिएर नै जानुपर्दो रहेछ ।

राम दाहाल
दिल्ली

December 26, 2006

मलाई माफ गर

सुषमा घिमिरे

प्रिय,
मलाई माफ गर
सौभाग्य या भनौं तिम्रो दिर्घायुको मागमा
म भगवानको आडमा
अनशन बस्न सक्दिन
भोक त्याग्न सक्दिन
प्रिय, म व्रत बस्न सक्दिन ।

एउटा कालो रातमा,
भयंकर हावा हूरीमा,
विकट मरुभूमिमा
समय बदल्न अग्रसर मेरा पाइलाहरू
तिम्रो साथ लागेका थिए
अंकुश तोड्न तयार मेरा हातहरूले
तिम्रो हात थामेका थिए
तर, तिम्रा निकृष्ट हातहरू मैमाथि उठे
तिम्रा रुखा वचनहरूले मैलाई घोचे
तिम्रा हातहरू, अनि तिम्रा वचनहरू
जतिखेर ममाथि उठ्छन्
म एउटा मृत्यु अनुभव गर्छु
आफ्नो आत्मसम्मानको मृत्यु ।

यसरी म धेरैचोटि मरिसकें
एउटा जिन्दगी सयौं चोटि मर्नुको
दुर्भाग्य भोगिसकें ।
अनि, तिम्रा हत्यारा हातहरू
अघोषित उत्सव मनाउँदै
ताली बजाइरहेको
तिम्रा क्रुर वचनहरू
आफ्नै अस्तित्व जनाउँदै
लाली फिँजाइरहेको
म कसरी सहन सक्छु ?
मलाई मान्छे नगन्नेले
महानता आश नगरे हुन्छ
म शास्त्रका महान् नारीझैँ
तिम्रा दुष्कर्म भुलेर
तिम्रो पूजा गर्न सक्दिनँ
तिम्रा चोटहरूलाई
वरदान मान्न सक्दिन
तिमी जति नै अनुनय-विनय गर
प्रिय, म व्रत बस्न सक्दिन ।

December 9, 2006

भ्रूँण

कुरा नसुन्ने अरुको, कुरा राख्ने आफ्नो ।
पूरा नहुने विषयमा, खोचे थाप्ने ज्याद्रो ।।
विषै सेवन गरेमा, कहाँ पो जिवन छर ।
विषै वमन गरेमा, कोही कसको रहन्न ।।

सत्य भावना आफुमा, सबै यहाँ आफन्त ।
आफु सत्य नभएमा, कोही हुन्न आफन्त ।।
कुरा सुन्नु अरुको, बुझ्नु मुख्य कर्तव्य ।
राख्नु कुरा सुमान्य , पोख्नु सत्य मन्तव्य ।।

रुचि कसको के मा छ, हुन्न भुल्नु कदापि ।
इच्छा अरुको के पो छ, सुन्नु गुन्नु हे साथि ।।
मेरै कुरामा अर्थ छ, अरु सबै हुन् र्ब्यर्थ ।
यस्तो सोचाई गुणीमा, हुनु पर्छ है र्सतर्क ।।

वाचा नगर्नु त्यत्तिकै, मन अरुको बुभ्नु ।
सबै आफन्त मान्नु है, बुद्धि सबैको सुझ्नु ।।
मै हुँ विव्दान सुयोग्य, भन्ने नगर्नु घमण्ड ।
भ्रूँण प्रथम सुसत्य, किन र्ब्यर्थको उद्धण्ड ।।

गोपालप्रसाद पौडेल
कपन साहित्य समाज

December 1, 2006

कसम !

सुको साइबर

मान्छे त

मान्छे भइहाल्यो’नि !

भो

म मान्छेको कुरा गर्दिनँ ।

मान्छेकै

दूधको मुन्टोबाट

चुपु-चुपु

एड्स चुसिरहेका

नाबालकहरूको कसम !

खै कहाँ छ ?

त्यो नालायक इश्वर !

एकै छप्कोमा

खत्तम गरिदिन्छु ।

- निजगढ (बारा), ७

November 30, 2006

के गर्छौ बाबु …… सहनै नसके पछि ?

दीपक जडित

म पनि सहन सक्छु
थाहा छ तिमीपनि सहन सक्छौ
तर सहनुको पनि हद हुन्छ
कती सहने अझै
सहेरै हामीले
दुईसय सैंतिस बर्ष बित्यो ।
सहेरै प्रत्येक बर्ष
म हरु गिजेरी रुखमा
झुण्डिएर मरिरहयौं
सहेरै प्रत्येक बर्ष
तिमीहरु भिरबाट
हामफालेर मरिरहयौ
अब झुण्डिनु नपरोस
म हरु गिजेरी रुखमा फेरी
अब हामफाल्नु नपरोस
तिमीहरु भिरबाट फेरी
त्यसैले सोच एकपटक
के गर्छौ बाबु …… सहनै नसके पछि ?
प्रस्तुत कविता विजय सिंह थापाले लेख्नु भएको सहु सहु बाबु…… को कविताको प्रत्युतर कविता हो

November 29, 2006

सहु, सहु…

विजयसिंह थापा

तिमी

तुरुन्त भीरबाट

हामफालेर मर

घर नजिकको गिजेरी रूखमा

झुन्डिएर मर

तर

चिन्ता लिएर नबाँच

प्लिज् ।

तिनीहरू

राष्ट्र लुछ्न नै जन्मिएका हुन्

त्यसै किन रिसाउँछौ ?

हामीलाई सताउन नै जन्मिएका हुन्

व्यर्थ किन विरोध गर्र्छौ ?

सहु

सहु

सहु बाबु सहनै नसके पनि ।

November 26, 2006

खबरदार !!!

अर्पण तामाङ

खबरदार!
भोका नाङ्गा जनताहो!!
अझै सकिएको छैन क्रान्ति!
हात बाधेर नबसहै आयो भन्दै सान्ति!
त्यसैले मेरो यहा हरुलाइ
एउटा खबरदारि।
गिरि बिस्ट र थापा हरुको
सकुनि रथ मा बुइ चढेर
नारायणहिटिको बंश बिनास गरि
५८ को कालो इतिहास रच्ने
माइला काकाको बिस्वास नगरहै।
जङ्गेलेत बिरोधिको लागि
गर्यो कोत पर्ब!
तैलेत गरिस आफ्नै बंशको
नारायणहिटि पर्ब।
त्यसैले संकात लागेकै थियो
हनुमानढोकाको कास्टमन्डप भित्र
फिस्स मुस्कान छोडि
भरौटे हरुको सुका मोहोर दान लिएर
चौरिको पुच्छर ताज पहिरेपछि
रगतले पोतिएको नारायणहिटि छिरे पछि
आफ्नै बंशको सदगदिमा
कर्फ्यु घोसणा गरेपछि
रानाभाटले -याटाटाको
प्रतिबेदन बुझाएपछि
अनि!सुरुभो कौरब हरुको
तान्डब नृत्यको कालो रातृ
त्यसैले!जनताहो!! (more…)

November 16, 2006

कस्तो यो जीन्दगी

अप्जसी

अधुरो यो जीन्दगी
बीट नमारीएको डोको जस्तो ।
भौतारीएको यो जीन्दगी
धेरै छाकको भोको जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी ।
डलेलोले पिल्सिएको वन जस्तो ।
विरक्त लाग्दो यो जीन्दगी
विधवाको मन जस्तो ।।
व्यार्थ छ यो जीन्दगी
रालो बीनाको घण्टि जस्तो ।
कति कमजोर यो जीन्दगी
सुकेको सण्टि जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी
नढाक्ने खोल जस्तो ।
घृणित छ यो जीन्दगी
पत्रुको मोल जस्तो ।।
वेसहरा छ यो जीन्दगी
शुन्यको यान जस्तो ।
नमुना मात्र छ यो जीन्दगी
बहिराको कान जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी
हावा वीनाको साइकल जस्तो ।
कति कठोर छ यो जीन्दगी
लडाकुको र्राईफल जस्तो ।।
कति उदास छ यो जीन्दगी
गाला अड्याउने हात जस्तो ।
यो जीन्दगी खै के जीन्दगी
औशीको रात जस्तो ।।

खुदुनावारी ८,झापा

November 13, 2006

गिद्घहरु

चन्द्र गुरुंग

आजभोली,
मेरो देशको आकाशमाथि
लालच र पदलोलुपताका दुइ पखेटाहरु फिंजाई
निर्दयी गिद्घहरु फेरी विचरण गर्न थालेका छन्
जसका तीक्ष्ण लोभी नजरले
प्रत्येक अवसररुपी चल्लालाई देख्न सक्छन्
टाढैबाट चिन्न सक्छन् र
मौका पाउन साथ झम्टिन्छन् ।

जब, दरबार भित्रको शिकारीले
यी गिद्घहरुलाई आफ्नो चालको जालमा पारे
र यिनका दुइ शानदार पखेटाहरु काटेर
आकाशैभरिको स्वतन्त्र उडानलाई खोसे ।
तब, यी गिद्घहरु
मुकुटधारी शिकारीको विरोधमा
दिन-दिनै रत्नापार्कमा भेला हून्थे,
आफ्नो खोस्सिएको आसन फिर्ता पाउन
खुल्लामञ्च थर्काउने भाषण ठोक्थे,
लुटिएको सुख-शान्तिका निम्ति
चोक-चोकमा आन्दोलित हुन्थे र
सहयोगको लागि हामी जनतालाई गुहार्थे ।

अब फेरि,
त्यो क्रुर शिकारीको चंगुलबाट फुत्केर
यी गिद्घहरुका बदनाम नाकले
अवसरको गन्धलाई सुघ्न थालेका छन्
कुइएका आलु जस्ता दिमाग बोकेका शिरलाई
परम स्वामीको पाउमा नै र्समर्पण गर्न थालेका छन्
र फेरि
यी गिद्घहरुले अबलाहरुका बेइज्जत गरेर
ठूला-ठूलार् इज्जत पुरस्कारमा थाप्न सक्छन्
हाम्रो विश्वासलाई तोडेर
भ्रष्ट चरित्र बापत थुप्रोई तक्मा जोड्न सक्छन्
र, आफ्नो स्वार्थ्र्ााे थैली भर्न
पापी हातले सामन्तीको गोडा धुन पनि सक्छन् ।
तर खबरदार !
निरंकुश शिकारीको जाललाई
धुजा-धुजा पार्न सक्ने परेवाहरुले
यी लोभी गिद्घहरुलाई पनि लखेटन सक्छन् ।

गोर्खा हाल काठमाण्डौ

November 10, 2006

म कबि होइन

अर्पन तामाङ

म कबि होइन
तैपनि मनको बह बिसाउछु
एउटा कपि को चौतारिमा
तर दोस नठानिदिनु कबि भनेर
एउटा भुल सम्झि दिनु! निर्दोस कलम सम्झेर!!
त्यसैले आफुदोसि ठानौ भने
सुइकार्न सक्दिन
कलम दोसि ठानौ भने
निर्जिब बस्तु कसरि?
मनको पिदा पोख्छर
तैपनि चलिरहन्छ निरन्तर
एउता बिना प्रानको
सेतो कोरा कागजमा!जिबन पोखिरहेछ!!
एउटा हातको सहारामा
औलाहरुको बैसाखिलिएर
निर्जिब सब्द हरुलाइ
प्रान् को सन्जिबनिछरिरहेछ
एउटा कबिता बनेर ।
त्यसैले कबि भनौ भने
अनि भाब हरु पोखौ भने
सब्द सजाउन सक्दिन
उर्बरा मरुभुमि झैसेतो कागजमा
आफै निरन्तर पोखिरहन्छ
एउटा मन को भाब बनेर
कहिले माया प्रेम को सब्द बनेर
ओकलिन्छ कबिता
कहिले बिछोड र रोदनको समिस्स्रनबनेर
बगिदिन्छ कबिता !
अभाब मा पिल्सिएको जिउनु को अर्थ
जिन्दगि बनेर बगिदिन्छ कबिता
महासागर हरुको बिचमा
नदिको किनारा बनेर
बगिदिन्छ कबिता!
कहिले अन्याय र अदमनमा
पिल्सिएको घाउ बोकेर
बिद्द्रोहको नारा उराल्छ कबिता
कहिले सिता जानकि र बृकुटिको
गित बनेर आउछ कबिता
कहिले बुद्ध को सन्देसत कहिले देस को
राजनिति लिएर आउछ कबिता
यसरि अवातर लिएर आइरहन्छ
बार-बार कबिता!
त्यसैले मत भाबक मात्र हु
कबि नभन्देउ साथि
म कबिहोइन!
सब्दमा पोखिएको भाबहो त्यो
त्यो कबिता होइन
साचै होस या ख्याल ठट्टामा
कबि नभन्देउ साथि
म कबि होइन

सुन्सरि,तरहरा-२

November 9, 2006

आमा मलाइ गाली नदेउ

शिबराज इटनी

तिम्रो काखवाट टाढीनुपर्दा
यो मुटु पोलिरहेको छ
तर सेवाबाट भागेको होइन
आमा मलाइ गली नदेउ ।

सेबा गर्ने इच्छा भएपनि टाढीनुपर्दा
मेरो यो मन जलिरहेको छ
ति मलाइ भगाउने हरुसँग
आमा मलाइ गाली नदेउ ।

तिम्रो रगतवाट टाढीनुपर्दा
मेरो शरीर फुस्रो भइरहेको छ
नितान्त बेकम्बा बनेको छ
आमा मलाइ गाली नदेउ ।

तिम्रो न्यानो र्स्पर्सवाट टाढीनुपर्दा
मेरो दिमाग स्थिर छैन
नराम्रो काँडो सबैको घाँडो बनेछु
आमा मलाइ गाली नदेउ ।

चैनपुर १ धादिड. नेपाल

मेरो प्रेम तिम्रो लागि

November 7, 2006

बसन्तको फुल सङ्गै फुल्न पाएह् उन्थ्यो

बसन्तको फुल सङ्गै फुल्न पाएह् उन्थ्यो
बिहानिको लालि सङ्गै रङ छर्न पाए हुन्थ्यो
कोहिलि सङ्गै पालुवामा गाउन पाए हुन्थ्यो
गित बनि मधुमास मानाच्न पाए हुन्थ्यो
तारा बनि जुन सङ्गैलुक्न पाए हुन्थ्यो
छितिज पारि मिर्मिरे मा रम्न पाएहुन्थो
जुनकिरिले मलाइ पनि मित लाए हुन्थो
जुनि जुनि नछुटिने पृत लाए हुन्थो
सहि दिन्थे बिर्सिएर सबै सबै घात हरु
बिर्सि दिन्थे चोट पनि थामिदिन्थे हात हरु
गैदिन्थे ढुङ्ग पुज्ने मन्दिर बरु लाने भए
खाइ दिन्थे बाचा कसम भए भरको खाने भए
उमङ्ग छन मनभरि रहर छन तन भरि
सपना धेरै साचेको छु सजेको छ आखा भरि
नत मैले दौलत मागे नत मागे सुनचादि
नत मागेऐस आरम नत लाएबिन्ति
खालि एउटामन मागे मागे एउटा माया
लुटपुटिने काख मागे मागे एउटा छाया
त्यसैले नै बिन्ति गर्छु माया पाए हुन्थ्यो
जुनि जुनि सङ्ग सङ्गैजिउन पाए हुन्थ्यो
त्यसैलेनै जुनकिरिले मित लाए हुन्थ्यो
जुनि जुनि नछुटिने पृत लाए हुन्थ्यो

अर्पन् तामाङ
सुन्सरि,तरहरा-२

September 27, 2006

चश्माको स्टाइल पनि निकै फेरियो

चिज कुमार श्रेष्ठ

म त यस्तो भएँ
सवैभन्दा सस्तो भएँ
परदेसिएको पलछिनर्मै
जनै पनि फालि दिएँ कतै

कन्दनी त यस्तै उस्तै
हरि ओम् जप पनि हरायो कतै
एक्कासौ शताब्दीको परिवेशमा
आफ्नोपन पनि हराएछु सायद कतै

यिनै परिवेशमा लामो लामो पारिहाले दारी
कपाल चाँहि धुजा धुजा पारें बेसरी
चश्माको स्टाइल पनि निकै फेरियो
मुतुवा वन्ने जमर्कोमा सलाम वालेकुममा झरियो

खै को नै छ र परदेशमा सम्झाउँने
जति छुद्र भयो उत्ति नै साथीहरु रमाउँने
विग्रिएर यस्तै भो चाला
अव त परदेशमै सायद जीवन जाला

September 26, 2006

मुटुभरी चोट दिने पापीनी तिमी

मन्जील दिप सुब्बा

आधा बाटोमै छोडीजाने निस्ठुरी तिमी
मुटुभरी चोट दिने पापीनी तिमी

आफ्नो हृदयभित्रै मारेर मलाई
प्रेमको हत्या गर्ने अपराधी तिमी

सुखमा साथदियौ दुखमा छाडीदीयौ
मेरे मर्म नबुझ्ने बैगुनी तिमी

क्षणीक आनन्दमा फसेर मलाई
सारा खुसी लुट्ने स्वार्थी तिमी (more…)

September 25, 2006

सुन्दर बिहानीको प्रतिक्षामा

बसन्त लोहनी

बन्दुकाको निसाना लाग्दा लाग्दा
रक्ताम्मे भएको मन
अब नदुख्ने भइसकेको छ
त्यसैले चरैतिरबाट निसाना दागिरहेका
तिनका हातहरु थरथर काम्न थालेका छन्
जब एउटा फूलमा
पहिलो पटक परेको सूर्यको किरण
त्यस्को तरेलीमा
टपक्क परेको शीतको दानासँग चिप्लेटी खेल्छ
त्यहा कोटी सूर्यको उज्यालो
दिप्यमान भएका हुन्छ
त्यसैले त एउटा शीतको थोपासँग
अजङ्गका बन्दुक बोकेका हातहरु
काम्न थालेका छन्
त्यो थोपा
कुनै पनि क्षण विलय हुन सक्छ
आफ्नै धरासँग
यहिको बगरमा,यहिको पाटोमा
तर त्यो दिप्यमान किरण
उषाको लालिमा बनेर
एउटा सुन्दर बिहानीको प्रतिक्षारत छ

ईमेल: buba@wlink.com.np

September 18, 2006

ए शाहीद भन तिमीले के पायौ ?

अर्पन तमाङ

छाती थापी गोली खायौ
गर्धन काटी रगत दियौ
ए शाहीद ,
भन तिमीले के पायौ ?

स्वत्रन्तता को लडाईं लड्यौ
समान्त को सङ्ग्राम गर्यौ
खुला आकास को कल्पना गर्यौ
सन्तती को भबिस्य चाहेउ
पसिना पोखेर कर्मा गर्यौ
पाखुरी मा बल सिचेर
पत्थर लाइ पनि फोरी पगाल्यौ
देश को लागि मार्छु र मर्छु भनि
बलिमा चाडाएको बोका बन्यौ
ए शाहीद ,
भन तिमीले के पायौ ?
(more…)

September 10, 2006

पर्खिन्छ रे भनिदिनु जुनि-जुनि लाई

पर्खिन्छ रे भनिदिनु जुनि-जुनि लाई
सञ्चै छ रे सुनाईदिनु मेरी उनि लाई

झल्को आउँछ उकाली र अनि ओरलीको
बिर्स्या छैन भनि दिनु भाकल देउरालीको

ओइलाएको छैन भन्नु चढाएको फुलपाती
भन्दिनु है लाग्छ अरे दौलत भन्दा माया जाती
भनिदिनु रुदै छ रे चौतारी र वनपाखा
हुन्न अरे भनि दिनु ओभानो त्यो आँखा

भनि दिनु बस्छअरे तिमी आउने भञ्ज्याङ कुरी
तारा गन्दै टोलाउछ रे भनि दिनु रात भरि
मनकामना पाथिभरा दक्षीणकालीको
भाकल छ रे दन्तकाली बुढासुब्बाको

भनिदिनु भाकल छ रे सम्झे जतीको
हावा छेकी बस्छ भन्नु दियो जलेको
केही गरी दियो निभे मेरी उनि लाई
खोट नलगोस् भन्छन अरे जुनि -जुनि लाइ

काँडा बिझी शही दिउला टेक्ने पैतालामा
तिमी बाहेक छैन कोही पापी संसारमा
त्यसैले ,
पर्खिन्छ रे भनि दिनु जुनि-जुनि लाइ
सञ्चै छ रे सुनाईदिनु मेरी उनिलाइ
अर्पन तमाङ
सुन्सरी-तरहरा २ ,
हाल , टेक्सास युनिभर्सिटी ,कतार

August 31, 2006

कास म पनि केटी भइदिएको भएँ

चिज कुमार श्रेष्ठ

कास म पनि केटी भइदिएको भएँ
ओठमा लाली यसरी नै दल्थे होला
आँखामा काजल त्यसरी र्सवाथेहोला
गालामा पाउडर पनि यस्तै हुन्थ्यो होला

कपाल मेमको जस्तो पारिदिंदा
दश यूवक मन्त्रमुग्ध हुन्थ्योहोला
के के गर्थेहोला, आफूलाई राम्रो पार्न
ओठमा लाली पनि ऐना हेर्दै दल्थेहोला

चारैतिर चर्चा र परिचर्चा हुन्थ्योहोला
कति राम्री र्स्वर्गकी अप्सरा भनेर कहलिन्थेहोला
कास पनि केटी भइदिएको भए
कति केटा साटी साटी फेर्थेहोला

इमेल र चाटमा हेलो हाइको लस्कर
टेलिफोन र मोवाइलमा आइ लव यू को मेसेज
पलपल हरपल कति एकसचेन्ज हुन्थ्योहोला
राम्रा राम्रा युवकहरु मेरै पछि पर्थेहोला

कास म पनि केटी भइदिएको भएँ
ओठमा लाली यसरी नै दल्थे होला
आँखामा काजल त्यसरी र्सवाथेहोला
गालामा पाउडर पनि यस्तै हुन्थ्यो होला

रेष्टुरेन्ट र पार्कहरुमा व्वाइफेन्डको चुम्बन लिदै
कति डिस्को र पार्कहरु घुम्थेहोला
वियर व्राण्डीको चुस्कीसँगै
आइ लव यू को मिठो आभाष पनि पाउँथेहोला

यू.एस.डलरको खेती फष्टाउन नसकेर के भो र
कोरियन डलरमै भएपनि मलजल हुन्थ्योहोला
हङकङ डलर त आफ्नै हो नि
नपाए रियाल मै पनि चित्त बुझाउँथेहोला (more…)

August 19, 2006

लुट्यौ श्रीपेच ……….

लुट्यौ श्रीपेच र देश दाजुको वंश नांशी ,
हत्यारा भए भु पति जनता सुकुम वासी ।

चुस्यौ रगत जनताको डाले जुका झै टांसी ,
जनता छटपर्टाई रहृयो तिमी वस्यौ हांसी ।

तिमी चालक, गिरी कन्डक्टर, कमले खलासी ,
ज्रि्रो टोक्छन जनताले देखेर त्रि्रो वदमासी ।

वनाएथे जनतालाई निरङकुशताको दासी ,
प्रजातन्त्र माग्नेलाई दियौ उपहार फांसी ।

वुझेनौ जनभावना तिमी नारायणहिटी पसी ,
धेरै रगत वगायौ भयो इतिहांस लेख्ने मसी ।

अभाव छैन रगतको वाट्ना गणतन्त्रको रसी ,
चेतनशिल छन जनता नसोच दशैको खसी ।

कर्फ्यु ओढेर उन्नाइस दिन झोपडीमा न वसी ,
निस्के जनता लिएर हातमा कलम, लौरो, आंसी ।

जनआन्दोलनको भेलले वगायो शक्तिको कसी ,
कान समातेर मध्यरातमा वसाल्यो घुंडा धसी ।

देश अतुर छ पहिरिन गणतन्त्रको माला गांसी ,
वाटो नपाउला पछि समयमै भागि हाल काशी ।

देव गुरुङ
हङकङ

August 1, 2006

त्यसैले होला………

पल पलमा मायाको पाथी भर्दै गए जस्तो छ
मायालुको मुटुको ब्यथा बढ्दै गए जस्तो छ
त्यसैले होला………
नयनबाट आँशुका थोपा झर्दै गए जस्तो छ

जिन्दगी भरि मेरै साथ दिन्छेउ भन्ने ठानेको थिए
तिमीले पराई ठाने पनि मैले त आफ्नै मानेको थिए
त्यसैले होला…..
जीवन साथी तिमीलाई नै छानेको थिए

के मान्थ्यो मुटु यो फेरी तिमीले छोडे पनि
शिशाझै मुटु यो मेरो फेरी तिमीले तोडे पनि
त्यसैले होला…….
झन याद आउँ छ तिमीले बाटो अन्तै मोडे पनि

कृष्ण लामीछाने

July 27, 2006

किनकी देशमा लोकतन्त्र आएको छ

July 24, 2006

आइ लभ यू

देव गुरुङ

दिलमाया, भरिदेउ अझै,
गिलास माथि गिलास
सत्ते……. सवै पिएको हैन मैले
आधा गिलास त छचल्किएरै पोखिएको हो
तिम्रो वैश छचल्किए झै,
तिमिलाई के भनौ रु
आज नशाले चुर हुनु छ मलाई
घांटीमा अड्किएको कुरा छादनु छ मलाई
भर्खर त घाम पल्लो डांडा पारि खस्यो
ओल्लो डांडामाथि जुन कहिले टेक्छ रु
अव मलाई चिन्त छैन त्यस्को, मात्र हतार छ
फगत मेरो प्यासी ओठमा गिलास टेकाउन
र आकाशको जुन हैन धर्तीको जुन नियाल्न ।

तिम्रै अगाडि उभिएर,
भर्खरै त दिनले रातको पछयौरी ओढदै छ
र त मेरो गाला र घांटी रसिलो हुदै छ
तिम्रो नशामा जति म मात्तिने गरिन्थ्यो
आज त्यो भन्दा वढी मात्तिदै छु
आंखा त मेरो पहिले नै लाल थियो
किनकि म पहिले आंखाले पिउने गर्थे
अहिले त्यो लाली मेटाउन घांटीले पिउदै छु
त्यसैले भरिदेउ अझै गिलास माथि गिलास ।

तिमिलाई आवगत नै छ,
तिम्रो भट्टीको मझेरीमा वस्दा वस्दै,
म तिम्रो मनको मझेरीमा उक्लि सकेको छु
घरको वाटो विर्सि सकेको छु अव त
त्यसैले रात छिप्यो घर जानुस नभन्नु मलाई
विन लादेनको साहस पैचो लिएपनि मैले,
दुइ घुट मुखमा नपोखिन्जेल जिब्रो हिडदैन मेरा
खोपडी छेउको दुइ कन्चट वाट तातो लहर
टाउकोमा एक पटक फनक्क घुमेर
कानहरु रातो र तातो पार्दै शरीर भित्र हिडेपछि
सुतेका तन्तुहरु फडफडाउदै जागेपछि मात्र
म वोल्छु, कराउछु, र देखाउछु आफनो साहस
अनि अनायसै मनको कुरा घरि घरि छादछु
आइ लभ यू ,
आइ लभ यू ।

घाचोक कास्की
हाल हङकङ

July 19, 2006

जहर घोल्न नआउ तिमी

रिचा तिवारी

मेरो जीवनको हर खुशीहरुमा
जहर घोल्न नआउ तिमी ।
खुशी रहन चाहने मेरा रहरहरुमा
दर्दको आतंक फैलाउन नआउ तिमी ।

हर चाहना र रहरहरु मेरा
सिमलको भुँवा सरी उडेर गए ।
हर पुर्णीमाका रातहरु मेरा
तिम्रो प्रतिक्षामा अनिंदो बितेर गए ।

एक्लो , नितान्त एक्लो बाच्दै छु
यो मेरो दर्दनाक र असफल जीवन ।
तिमी विना ,तिम्रो अभावमा
यो जीवनको सफरमा
केवल मौनता सँग मित्रता गाँसीरहेको छु ,
मेरो जीवनको हर खुशी ।

काठमाडौं

July 13, 2006

सडक

___

June 26, 2006

हास्दै वोल्दै दुइ मुटु वीच

हास्दै वोल्दै दुइ मुटु वीच खोई कहिले देखि ,
गहिरो माया वसि सकेछ थाहै भएन मलाई ।

झट्टै हेर्दा वगैचामा फुल मात्रै देखे ,
काँढा पनि हुदो रहेछ थाहै भएन मलाई ।

ठड्याईसके थिए मैले सपनाको महल ,
सपना त सपना नै हुन्छ यादै भएन मलाई ।

समाज नामको धमिरोले हाम्रो प्रेमको डोरी ,
शनै शनै काटि दिएछ थाहै भएन मलाई ।

अभावले चाट्यो अनि कति वेदनाले पोल्यो ,
जिन्दगीले ढाँट्यो कसरी विश्वासै भएन मलाई ।

आफ्नै भाग्य खोटो रहेछ दोष कसैको छैन ,
मनपर्ने लाई वेहोर्ने त भाग्यै भएन मलाई ।

थाकि सके मन मेरो घाउ सिउदा सिउदै ,
हृदय नै फाट्यो कति यादै भएन मलाई ।

आँट गरेर ठूलै दाउमा जुवा खेले मैले ,
जिन्दगी नै हारे पछि होसै भएन मलाई ।

देव गुरुङ
हङकङ

June 5, 2006

काठमाण्डौ

स्नेह सायमी

काठमाण्डौ नदेख्दै
ऊ जब
काठमाण्डौ सुन्छ
काठमाण्डौ सपना देख्छ
काठमाण्डौ कल्पिन्छ
ऊ आफै
काठमाण्डौ नैं काठमाण्डौ हुन्छ

काठमाण्डौ हेर्ने अवसर खोज्छ ।

जब देख्छ काठमाण्डौ
एकै नजरमा मन पराउँछ
एकै रातमा प्रेम गर्छ
यति पागल हुन्छ कि
काठमाण्डौको निम्ति
कि काठमाण्डौमैं उस्ले आफ्नो जीवन भेट्छ
काठमाण्डौमैं आफ्नो भविष्य, आफ्नो करियर देख्छ ।

काठमाण्डौले उस्लाई
स्वागत गर्छे माया गर्छे बास र गाँस जुटाइदिन्छे
पढाइदिन्छे
काठमाण्डौले उस्लाई
खान सिकाउँछे
लाउन सिकाउँछे
कपाल कोर्न सिकाउँछे
बोल्न सिकाउँछे
एक किसिमको सभ्य बनाइदिन्छे ।

अब, ऊ
काठमाण्डौ जस्तै देख्छ आफुलाई पनि
आफुलाई चोला फेछ आवरणमा
कतै अफिसर हुन्छ
कतै इन्जिनियर, डाक्टर हुन्छ

स्पेश्लिष्ट वा विजिनेस्म्यान हुन्छ
वा केही नभए
पोलिटिसियन त जरुर हुन्छ

अनि
काठमाण्डौ ओढेको, काठमाण्डौ ओछ्याएको
काठमाण्डौसंग अंगालो मारेको
काठमाण्डौलाई युज गरेको बिर्सन्छ
अब ऊ ठुलो मान्छे भइसकेको छ ।

ऊ काठमाण्डौलाई लुछ्न थाल्छ
ऊ काठमाण्डौलाई लुट्न थाल्छ
भरेध्र् बनाएर काठमाण्डौलाई
अर्कै संसारमा उड्न थाल्छ

भन्छ,
यो काठमाण्डौ के काठमाण्डौ ?
काठमाण्डौ टोक्यो जस्ती स्लिम छैन
काठमाण्डौ सिंगापुर जस्ती सुन्दर छैन
काठमाण्डौ न्युयोर्क जस्ती छैन
काठमाण्डौ मेलबर्न वा सिड्नी जस्ती छैन

अनि,
काठमाण्डौको काखमा हुर्केर
काठमाण्डौकै बिरोधमा नाराबाजी गर्छ
काठमाण्डौकै बिरोधमा पर्चाबाजी गर्छ
काठमाण्डौकै बिरोधमा कविताहरु लेख्छ
काठमाण्डौंको काखमै बसेर
भन्छ यो काठमाण्डौ के काठमाण्डौ ?

हरेक बिहान
काठमाण्डौलाई कोपर्छ
काठमाण्डौलाई पिट्छ
आफै फोहर गर्छ, आफै घिनाउँछ, आफै थुक्छ

हरेक साँझ

काठमाण्डौले बनाइदिएको
ऐला र छोयला खान्छ
काठमाण्डौले पस्किदिएको
दाल भात खान्छ

काठमाण्डौको काखमा निदाउँछ ।

काठमाण्डौ यस्तो प्रबृत्तिबाट परिचित छे
यस्तो कृतध्नता धेरै पचाइसकेकी छे
यस्तो असंख्य व्यवहारबाट परिचित काठमाण्डौको
उस्को कृतध्नता प्रति कुनै प्रतिक्रिया छैनउस्को बिरोधप्रति कुनै चिन्ता छैन
शताब्दीयौंदेखि काठमाण्डौले
नाइटींगेल र मदर टेरेसालाइ बिर्सर्ााे गरी
निरन्तर स्वागत गरीरहेकी छे
चुपचाप सहीरहेकी छे
जे भएपनि, काठमाण्डौको आकर्षा घटेको छैन
जे भएपनि, काठमाण्डौको महत्व कम्ता छैन
काठमाण्डौको बिरोध गर्नेले,
काठमाण्डौ झनै त्याग्न सकेको छैन
किनभने काठमाण्डौको प्रतिस्पर्धि जन्मेको छैन
अहिले पनि, सौम्य, सुन्दर, सुशील काठमाण्डौ
नयाँ पाहुनाहरुको लसकुसमा व्यस्त छे ।

May 31, 2006

एकदिन नारद कान्तिपुर पुगि गया

ऋतुराज

एकदिन नारद कान्तिपुर पुगि गया दर्शन म गर्छु भनी
राजा त्याहीं थिया पर्‍या चरणमा राजन कि जय होस् भनी ।
नारद् विन्ती गर्‍या जसै निकट गै विँणा विर्साईकन
गाथ्मा मंगल छैन कि किन हजूर वेचैन देख्नु तन ।

नारद्का यी कुरा सुन्या जसै नृपजीले बोल्या विचारीकन
हे नारद् के कहूँ परेँ सकसमा थिर् छैन मेरो मन ।
देश्भरका सब जन् थिया चरणमा रैतीसरीका थिया
ऐले ती सबजन् बन्या रिपुसरी राज् छाड्न नारा दिया ।

मेरा सैन्य फूली पनि हरी लिया खोस्या हतियार् पनि
कर तोक्न्या अझ भन्दछन् जमीनमा त्यस्तै तलव्मा पनि ।
गाउँथ्या गीत सब् उठेर लहरै श्री पाँच की जय भनी
झुक्थ्यो शिर् सबको समस्त जगमा ख्वामित भन्थ्या उनी ।

ऐले सब् कसरी भया रिपुसरी चिन्तित यसैमा म छुँ
भोक् निन्द्रा पनि छैन कत्ति तनमा साह्रै पीडामा म छु ।
ख्वामित्का यी कुरा सुनेर मुनीले आँशु बगाया जसै
मन्मा सब् गुनी ली सकेर उनले जुक्ती फिराया तसै ।

हे राजन् प्रभूका थिया अघि-पछि ती सब् विभिषण भया
त्यस्ताका भरमा कहाँ हजुरले राज्पाठ गर्नुभया ।
छन् बैरी प्रभूका सबै धरतीमा क्वै छैन आफ्नो जन ।
वात् लागि सही बस्नु हुन्न नृपले इज्जत् विगारीकन ।

स्वर्गैमा पनि भन्दछन् हजूरमा वंशै विनासी भनी
ह्याँ छन् झन् सब देखन्या नजरले सकिन्न संख्या गनी ।
त्यस् कारन म त भन्छु हे नृप हजूर् स्वर्गै सवारी हुनोस्
वागी भै रिपुका वरी-परी बसी गाली कसोरी सुनोस् ?

स्वर्गैमा पनि मिलन्या कति कति रंभा अनि उर्वसी
पारस्का पनि वितन्या छन घडी कालो पदार्थै चुसी ।
त्यसकारन् नगरौं विलम्व अहिले यो हो सुनौलो घडी
ख्वामित्का सबजन् सवार हुनुहोस् पुष्पक विमानै चढी ।

यति जुक्ती दिया र नारदजीले पुष्पक मगाया जसै
त्यैबेला हिटीमा अचम्म हुन गो सब् जन्ले घेर्‍या तसै ।
ती थिया कति ता अनन्तपुरका नर्तक गणिकाहरू
थिया कोर्इ् भरजन्म दाससरीका भान्से धुपौरेहरू ।

कोइ थिया हलिया कति त घँसिया कोही पूजारी थिया
हुल् का हुल् जब घेरियो हिटीभरी नारद् अचम्मै पर्‍या ।
भन्छन् कोही मलाई ख्वामित लिनुस् जान्छु विमानै चढी
रून्छन् कोही बनी शिशुसरी टेक्दै निगाले छडी ।

राजाका संगमा वस्याँ जुनीभरी कोही ता भन्छन् यसै
विगार्न्या गिरी हुन् कमल्-रमेश हुन् भन्दा रहेछन् तसै ।
यस्ता बात् ऋषीले सुनेर मनमा गुन्दा भया क्वै छिन
गर्न्याहुन्न विलम्ब यस नरकमा मन्मा उठी गो घिन ।

यै कुरा मनमा लिएर मुनीले फेरी म आउँला भनी
विदा ली कन फुत्त पुष्पक चढी एक्लै गए ती मुनी ।
यै रित्ले बुझनु समस्त जनले यो ग्रन्थ राजायण
लेख्न्या म ऋतुराज् पनि लिई विदा जाँदो छु आफ्नो गण ।

May 27, 2006

के थाहा भोली

सुजित सिग्‍देल

शान्तिका प्यसमा सुकेका कण्ठ्हरु हो
नरसंहारका दृश्यले थाकेका आँखाहरु हो
एकै छिन पेट भरि भरि शान्ति पिउ
एकै छिन आँखाहरुलाई बिश्राम देउ
के थाहा भोली कस्तो बनेर आउँछ ।

छोरालाई धमिलो प्रकशमा भेटेका आमाहरु हो
श्रीमान सँग हतारमा पिरती साटेका श्रीमतीहरु हो
एकै छिन मतृबत्साल्यले छोरालाई आङलो हाल
एकै छिन श्रीमान सँग पेट भरि भरि प्रेम साट
के थाहा भोली कस्तो बनेर आउँछ ।

छोरा गुमाएका धेरै आमाहरु हो
सिन्दुर पुछिएका धेरै बिधुवाहरु हो
आफ्नै आँखाले एकै छिन अरु आमाहरु हेर
पति बियोगमा एकै छिन निर्धक्क रोउ
के थाहा भोली कस्तो बनेर आउँछ ।

बाबु-आमाका प्रेमबाट बन्चित टुहुरहरु हो
धेरै सपनाहरु बाशी बनाएका युवाहरु हो
अब शोकलाई शक्तिमा बादल
एकै छिन सपनाहरुबाट बिउँझ
के थाहा भोली कस्तो बनेर आउँछ ।

हजरौ लडकुका चित्कर सुनेका जननेताहरु हो
नगरिकका रगतले रङिएका शसकहरु हो
कदाचित अब आहंकारको मदिरा नपिउ
कदचित अब आफ्ना बाहुहरु संघुरो नवनाउ
के थाहा भोली कस्तो बनेर आउँछ ।
के थाहा भोली कस्तो बनेर आउँछ ।।
सिड्‌नि, अष्‍टेलिया

May 24, 2006

भोट कसलाई ?

- जैकी मोजाहु

घुर ताप्दैछन्
गफ मार्दैछन्
यसपाली बिचला टोलको पालो
पहाडियाहरूले धेरै राज गर्यो
हैन म उठ्दैछु बाजे
आबिद, तिमी मुसलमान भएर रक्सी खान्छौ
केटाहरूले तिमीलाई भोट दिंदैनन्
बरु बिचला टोलको अछ्मित चौधरी जित्न सक्छ
उसैलाई जिताऔं
एउटा नाथे वडाध्यक्षमा जित्नलाई कति भौट चाहिन्छ र ?
म बहुमतले जित्छु
थारुलाई जिताउने ?
बरु कमल ढकाललाई जिताइ दिन्छु ।
तर म थारुलाई भौट हाल्न दिन्न ।
चर्का चर्की बहस ।।।।।।।।।
एउटा होचो कदको भकभके मान्छे बोल्छः
ययोयो ममुमुसलम्मान, प्पपहाडिया, थ्थथाथारु क्केके हो ?
स्ससबै हुन् म्मामान्छे ।
क्ककिकि त ब्बबहिष्कारररर्,
क्ककिकि त भोभभोट योयोयोग्यललालाई
जजजजजसलाई उउउउउठ्नु छ उउउठ्,
ब्बबस्नु छ ब्ब्बबस्,
म्म्मम त ग्गगएँ,
म्मम योयोयो घुर प्प्पपञ्चायतती न्न्नै ब्बबहिष्कार ग्गगर्छु

नोटः घुर पूर्वी तराईतिर बोलिने भाषामा गाउँघरमा खह्र, गुइठा आदि जम्मा गरी त्यसमा आगो सल्काईकन जाडोमा आगो ताप्ने चलन छ । यसलाई घुर भनिन्छ । घुरको वरिपरि मान्छेहरू जम्मा भई आगो ताप्दै दुःखसुखका तीता मीठा कुराहरू गर्छन् ।

May 14, 2006

जिन्दगीका पाईलाहरु

वाउले नपढेर दुख पाए
मैले पढेर दुख पाए
वाउ स्वदेशमा हलो जोत्दैछन
म हङकङमा टाउको जोतिरहेछु
म कहिले चिङीको वगरमा उफ्रन्छु
कहिले लोकमा चाउ वोर्डरमा टोलाउछु
कहिले लाईचीकोक पाखामा सुस्ताउछु
कहिले हराउछन मेरा थकित पाइलाहरु
यी विरानो शहरमा लम्पसार भएर ।।
साँच्चै,
वादल भित्र निरन्तर उडि रहेको काग झै
मनको खेतमा म जोतिरहेको छु निरन्तर
तर भेटिदैन कहि छेउ र कुना
गन्तव्यहीन भयो जिन्दगीका पाईलाहरु
तर पनि हिम्मतको लौरो टेक्दै
अन्यौलको भुमरी पन्छाउदै
अस्पष्टताको पोको फुकाउदै
असफलताको प्रश्न जाँचिरहेछु
जोड,घटाउ,भाग र गुणा सवै गरे ।।
अनि निष्कर्ष,
जिन्दगीका पाईलाहरु
महत्वकाँक्षाको वलले तान्दै
अलिकति तन्केर अगाडि जान्छ
र्˚र्केर फेरी थन्किन्छन पुरानै ठाउमा
आशाको घामले उचाल्दै
अलिकति माथि चढ्छ
झरेर फेरी अड्किन्छ पुरानै सतहमा ।।
यसरी,
हरेक पटक शून्यवाट शुरु हुन्छ
र छोटो यात्रापछि फेरी
शून्यमै आएर टुँगिन्छ
मेरो जिन्दगीका पाईलाहरु
जिन्दगीका पाईलाहरु ।।
देव गुरुङ

May 12, 2006

सावधान !

त्यो ठुलो घर भित्र
लोकतान्त्रिक गणतन्त्र,
संविधान सभाको निर्वाचन,
प्रतिनिधि सभा,
मौलिक हक-अधिकार,
जनताको र्सवभौमसत्ता,
चुनाव र भोट,
संसद र सांसदहरु,
मंत्री र मंत्रालयहरु छन् ।
त्याँ
सुख-शान्ति,
अमन-चैन,
विकास,
सहयोग,
अवसर,
समानता र
सुरक्षाका योजनाहरु पानि थुनिएका छन् ।
तर,
त्यो ठुलो घरको गेटैमा
एउटा कालो बोर्डमा लेखिएको छ-
‘सावधानी पूवक प्रवेश गर्नु होला,
प्रतिगमनका मतियारहरुले टोक्न सक्छन् । ‘

चन्द्र गुरुंग

गोर्खा हाल काठमाण्डौ

May 10, 2006

कुकुरको पुच्छर

ऊ कुकुरको पुच्छर हो,
चौध वर्षढुंग्रामा हाल्दा पनि सोझिएन
ढुंग्राबाट निकाल्दासाथै
पुरानै आकार लियो ।
सोझिएहोला भन्ने
धेरैले सोंचेका थिए
तर त्यो भ्रम ठहरियो,
किनभने त्यो कुकुरको पुच्छर हो ।
कुकुरको पुच्छर
जो जन्मजात घुमेको हुन्छ
कुकुरमा टाँसिए पनि
र, कुकुरबाट अलग भए पनि
त्यसैले उसलाई
बेकार छ ढुंग्रामा हाल्न
र्ब्यर्थ छ सोझाउन
त्यसैले ऊ फुत्त गयो
उतैका माखा धपाउन
उतैको कलो खान
उतै रमाउन ।
हो, त्यो त्यहीँको पुच्छर हो
त्यसको नसा-नसामा
उतैको कलो टाँसिको छ
उतैको चे..चे.. भरिएको छ
उसले उतैको रखबारी गर्छ
उसले उतैको गुन गाउँछ ।
हो, उसलाई एकपटक
मालिकले बेस्सरी कुट्यो
कलो खान नदिएर लखेट्यो
ऊ रूँदै बस्तीमा आयो
बस्ती टिठायो
मल्हमपट्टी गर्‍यो
मालिकको हैन, (more…)

April 13, 2006

नयाँबर्ष तिमीलाई शुभकामना छ

नयाँबर्ष तिमीलाई शुभकामना छ ,
पोहोरको साल प्रजातन्त्रको मखुण्डो ओढेर आएथ्यो ,
यसपाली त लोकतन्त्रको वकालत गर्दै ,
निरंकुशताको थैलो पो भिरेछौ नयाँबर्ष ।

देशमा हिंसाका नाइकेहरु आसिन भएको बेला
इन्कलाबको आवाज लिएर आउ नयाँबर्ष
कुशासन र भ्रस्टचारहरु देशमा मौलाएको बेला
सुनामीको छाल भएर आउ नयाँबर्ष।

अबसरबादी र अत्याचारीहरुको आतंक बढेको बेला
लोकतन्त्रको आँधीबेहरी बनेर आउ नयाँबर्ष
सुन्दर गाँउहरुको फुङ उडेको बेला
प्रत्येक मझेरीहरुमा लाली र्छर्दै आउ नयाँबर्ष ।

असंख्य आमाहरुको काख रित्तिएको बेला
पोल्टाभरी सुनाखरी फुलिदेउ नयाँबर्ष
कैयौं नारीहरुको सिंउदो पुछिएको बेला
बैंसालु यौवन भई हरीयाली छाइदेउ नयाँबर्ष।

झन झन देशमा गरीबी र अशिक्षा बढेको बेला
आली आलीमा सहकाल र ज्ञानपुञ्ज बनेर आउ नयाँबर्ष
बुद्धको बस्तीमाहरुमा अशान्ती र कोलाहल मच्चेको बेला
सुख र अमनचैन र्छर्दै आउ नयाँबर्ष ।

यहाँ आस्थाहरु बन्दीभएको बेला
आजादीको बिगुल फुक्दै आउ नयाँबर्ष
त्यसैले तिमीलाई सँधै सँधैको लागि स्वागत छ
पूर्ण लोकतन्त्र बनेर आउ नयाँबर्ष ।

मोहन साँबा
मोरङ ।

April 8, 2006

निरंकुश बाढी

चन्द्र सिंग गुरुंग

पहाडतिर बाढीले
असार-साउन लाग्न साथ
मानसिक सन्तुलन गुमाएका लठ्ठकहरु जस्तै
निरंकुश मगज बोकेर
ताकतले मातिदै
आफनो लक्ष्यको समुद्रसम्म पुग्न
बाटोमा पर्ने
निर्दोष गाउँ बस्तीहरु बगाउँदै,
निरपराध गाई-बस्तुहरु सोहर्दै र
सोझा-साझा पहाडहरुलाई भत्काउँदै
चारैतिर पहिरो लान्छ ।

तर्राईमा बाढीले
निर्बल घर-गोठहरु भित्र
नूनिलो आँसुको भेल हुल्दै,
कलिलार् इच्छाहरुलाई अकालै डुबाउँदै र
ज्यान-धन नाश पार्दै
हाम्रा सपनाहरु मास्छन् ।

हामी, जब सम्म
निरंकुश बाढीको बाटोमा
बलियो बाँधझैं उभिन्नौं र
दृढ पहाड बनेर तगारो हाल्दैनौ
निरंकुश बाढीले
हाम्रो जीवनमा
सधैं-सधैं पहिरो लाने छ र
हाम्रा सपनाहरु मास्ने छन् ।

गोर्खा : हाल काठमाण्डौ

March 20, 2006

एक जुग भयो विदेशिएको म

देव गुरुङ

खण्डहर जस्तो घरको मझेरीमा
दुखी वुढी आमालाई छोडेर
पहिरो छेउको आगन डिलमा
दमको रोगी वुढो बा लाई छोडेर
मैलो टोपीले आँसु पुछ्दै
एक जुग अघि विदेशिएको म
हेर
उज्यालोले शहरमा पाइला नटेक्दै
जुनेली रातको वैश नढल्दै
म नापिरहेछु यी विरानो सडकहरु
पोखिरहेछु पसिना यो विरानो माटोमा
हर्राई रहेछु यो विरानो देशमा
एक जुग भयो विदेशिएको म
हेर
प्रेमीले प्रमिकालाई जिस्काए जस्तै
मलाई जिस्काइ रहेछ मेरै भाग्यले
कहिले रुवाउछ कहिले हसाउछ वेस्सरी
घरको एक तल थप्ने आशमा
तीन तल परि सकेछ निधारमा
एक जुग भयो विदेशिएको म
हेर
विर्सरैन मैले दशै तिहार र ल्होछार
टीका, जमरा र सयपत्री ˚ूलहरु
अनि घाँटो सोरठी र त्यो रोधी घर
छाती भित्र सुटुक्क मेरो गाउ राखेर
पैतला भरी मेरो देशको माटो वोकेर
एक जुग अघि विदेशिएको म
हेर
एक जुग भयो विदेशिएको म

घाचोक कास्की
हाल हङकङ

March 17, 2006

घरको चिठ्ठी

देव गुरुङ

प्यारो छोरा,
बाबा आमाको शुभ आशिर्वाद
हामी जिवितै छौ यो दुइ अक्षर लेख्ने वेला सम्म
अनि

तिमी त्यहाँ आफ्नो ख्याल राख्नु
गाँउ घरको चिन्ता नलिनु
तिमी एक्लोले चिन्ता लिएर के गर्न सक्छौ ?

आजकल
गाँउ घर गाँउ घर जस्तो छैन
गाँउको रोधीघर सुनसान छन
तिम्रा दौतरी साथीहरु कोहि छैन
र्हृर्के मुग्लान गए तिमी जस्तै,
धने जँगल पसे विर्खे जस्तै
अनि
तल्लो घरे र्साईला वेपत्ता छ ।।

आजकल
गाँउभरी बन्दुकको वाजा वज्दैछ
निर्मम हत्याको नाँगो नाच नाच्दैछ
दाज्यु भाईको विचमा काट मारको दोहोरी चल्दैछ
सारङीको तार छिनिसक्यो,
मुरली र मादल फुटिसक्यो
बन्दुकको वाजामा,
क्रन्दन र पीडाको लय निस्कदैछ अनि,
शोर वहादुरको पसलमा कात्रो सकिएर
पुरानो सिरकको खोलले काम चलाउदैछ ।।

आजकल
वनमा कोइली कराउन पनि छाडेको छ
डाँफे र मुनाल धेरै भयो नदेखेको
सफा आकाश कालो वदलले ढाकेको छ
र वादल भित्र गिद्धको हुल उडदैछ
अनि,
जमिनमा ब्वाँसोको हुल रमाउदैछ
र हामी घाम नडुव्दै ढोका लगाएर काल सँग लुक्दै
एक मुठी प्राण जोगाउदैछ ।।

घाचोक कास्की
हाल - याउमा तेइ
हङकङ
सर्म्पर्क … ९१२९ ४९३४

March 12, 2006

गलत लाग्छ मलाई मेरो देशको इतिहास

भुपि शेरचन

जब म

यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर

ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास

जब म
असङ्ख्य सीताहरुलाई सधै
बाटो-दोबाटोमा,
गल्ली-गल्लीमा,
देश-विदेशमा,
यूक्लिप्टसका रुखझै नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझै
दुबै हात तल झारेर
तब मलाई गरुँ-गरुँ झै लाग्छ
आफ्नो रगतको उपहास

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु क-दुइ दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु अर्निकोको कलाले विश्व-मन हरेको कुरा
सुन्छु सधै सुन्छु र केवल सुन्छु
तर मलाइ हुँदैन विश्वास

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।

March 11, 2006

Let me not to the marriage of true minds


Let me not to the marriage of true minds
Admit impediments; love is not love
Which alters when it alteration finds,
Or bends with the remover to remove:
O, no, it is an ever-fixèd mark,
That looks on tempests and is never shaken;
It is the star to every wand’ring bark,
Whose worth’s unknown, although his heighth be taken.
Love’s not Time’s fool, though rosy lips and cheeks
Within his bending sickle’s compass come;
Love alters not with his brief hours and weeks,
But bears it out even to the edge of doom.
If this be error and upon me proved,
I never writ, nor no man ever loved.

William Shakespeare

March 5, 2006

बुद्ध तिमी फेरि जन्मिदेऊ

कविता भट्ट

अन्धकार कालो औंसीको रातलाई चिर्दै
र्सवत्र पूर्र्णोको उज्यालो जून र्छन
रिस र दोषलाई त्यागेर
सबैको मनमा माया र ममता भर्न
बुद्ध तिमी फेरि जन्मिदेऊ ।

बारुद र बन्दुक समाउने हातहरुमा
श्रम सीपका औजारहरु थमाउन
निर्वल र निराश जीवनमा
नयाँ उत्साह र उमङ्ग जगाउन
बुद्ध तिमी फेरि जन्मिदेऊ ।

उजाड र उराठ सिउँदोहरुमा
मायारुपी सिन्दुर भर्न
रुढीवादी र कुसंस्कारले जकडिएको समाजमा
चेतनाको ज्योति र्छन
बुद्ध तिमी फेरि जन्मिदेऊ ।

अपाङ्ग भएको मानव मस्तिष्कलाई
सक्षम र सबल बनाउन
अचेतन र दबिएका आवाजलाई
पुनः सफलताको शिखर चढाउन
बुद्ध तिमी फेरि जन्मिदेऊ ।

लिलिपूटको लघु मानवझैं पुड्को भएको सद्भावलाई
सगरमाथाको शिखरझै उच्च बनाउन
दिनप्रतिदिन धमिलिदै गएको नेपाली आस्थालाई
पवित्र गंगा र यमूनाझै स्वच्छ बनाउन
बुद्ध तिमी फेरी जन्मिदेऊ ।

February 2, 2006

झिल्को

राजेन्द्र खनाल

बन्नु पर्छ आगोको राता लप्काहरु
दन्दन् दन्काउदै बनमारा घारीहरुलाई
ध्वस्त पार्दै स्याल र व्वाँसाका हिंस्रक गुडहरु
अनि पलाउनु पर्छ, सालका कलकलाउँदा
मुनाहरु
त्यसपछि
पालुवा हालेका मैनाका रुखहरुबाट
कुलर्नु पर्छ ताँवे ढुकुरहरु
ढुकुर कुर ! ढुकुर कुर !
अनि
लयमा लय हालेर उफ्रनु पर्छ
मृगका चनमते बच्चाहरु
र हरियो र्फकनु पर्छ, थकौलीका
लहराहरुमा पनि
झिल्को
झोसिनुहुँदैन
वर्षौदेखि पोचिएका सिमलका मुडाहरुमा
घुसपैठ हुनसक्छ
सेपमा ओसिएका पातबाट पनि
चट्ट्ट् यस्तै हुनुपर्छ आवाज
र पस्नु पर्छ, काला गोमन लुक्ने
प्वालहरुभित्रपनि
तर, खरायो जल्नु हुँदैन
झिल्को
हावा आउन सक्छ, मोड्न मोडाउन
अनि
भड्काउन, तर्काउन सक्छ
तर निभ्नु हुँदैन
वरु खरघारीलाई सहयोग मागेर
जल्नै पर्छ, जलाउनै पर्छ
तर वस्तीमा पस्नु हुँदैन
सम्झ
वस्तीमा आमा हुन्छिन्
गाइ हुन्छिन् र परेवाहरु हुन्छन् ।

February 1, 2006

मेरो मोल

आरोह अवरोह मोल जगतको घरि घरि ।
गर्छन् मानिस मेरो मोल यहाँ थरिथरि ।।

लामो केश भए बीस रुपैयाँ मोल्छ नाई ।
रोगी भए चिकित्सकको दुहुनो गाई ।।

मात्र एक खिलि पान सोच्छ पान पसले ।
विकल्पमा दोश्रो छैन मुटुमा राख्या छ जसले ।।
(more…)

January 30, 2006

तिमी र हामी

शार्दुल भट्टर्राई

तिमी रुवाउन खोज
हामी हास्छौं
तिमी पिट
हामी ब्यूझन्छौं
तिमी थिच
हामी उठ्छौं
तिमी दमन गर
हामी प्रतिरोध गर्र्छौं
तिमी मार
हामी अमर बन्छौंं
किनकि
तिमी र हामीमा
धेरै भिन्नता छ
तिमी पछाडि फर्किरहेछौ
हामी अगाडि बढिरहेछौं
० ० ०
तिमी बेइमान छौ
हामी इमानदार छौं
तिमी भ्रष्ट छौ
हामी स्वच्छ छौं
तिमी क्रूर छौ
हामी कोमल छौं
तिमी लुच्चा छौ
हामी भद्र छौं
तिमी लुट्छौ
हामी श्रम गर्छा
तिमी व्यभिचारमा बाच्छौ
हामी विचारमा बाच्छौं
तिमी र हामीमा
धेरै भिन्नता छ
यसकारण कि-
तिमी शासक हौ
र हामी शासित ।

January 27, 2006

गणतन्त्रको क्षेत्रफल

आहुति
अस्तिको साँझ
छिमेकीहरूमाझ
मैले धोएँ
करिब पाँच हजार वर्षमैलो
मेरी आइमाईको पेटिकोट
त्यो अकल्पित पलमा मूर्छित थियो औपचारिक समय
तर नाचिरहेथ्यो मेरी आइमाईको ओठमा
सुहाग रातको तृप्तिलाई उछिनेर
युगान्तकारी मीठो मुस्कान

आइमाईको मुस्कान
गोली थिएन
थिएन बम-गोला
तर जलिरहे मुस्कानको रापमा रातभर
गीता
बाइबल
कुरान
र त्रिपिटकका
अनगिन्ती श्लोकहरू ।

हिजोको मध्यान्ह
कुटुम्बहरूको रोहबरमा
आयोजना गरें
करिब पैंतीस सय वर्षपुरानो
पूजा कोठामा र्सार्वजनिक छलफल ⁄
त्यो दुर्लभ घटनामा घाइते बन्यो परम्पराको इतिहास
तर सहभागी दलितका ठाडा रौंहरूबाट
फैलिरह्यो हरेक बासलाई टेकेर
कालजयी श्रमको सुगन्ध ⁄

पसिनाको गन्ध
यातना थिएन
थिएन प्रताडना
तर पग्लिरहे श्रमको तापमा दिनभर
हैकमहरू
दासताहरू
ठालुतन्त्रहरू
र अन्धताका
प्रशस्त हिम-ढिक्काहरू ।

आजको बिहान
पछ्याएर बच्चाहरूको पाइला
बल्ल छाम्ने साहस बटुलें
रक्तधाराले लेखेर स्वागतम्
नयाँ युगलाई डाकिरहेको रक्ताम्मे सडक ⁄
यो दृश्य फगत बाल-रहर ठानिरहेछन् बुढा आँखाहरू
तर जीवनको प्रत्येक कण-कणमा
गुञ्जिरहेछ प्रौढहरूको बासी थकाइलाई लछारेर
शिशुहरूको निमन्त्रणाको नया“ गीत ⁄

यो निमन्त्रणा
बिन्तिपत्र होइन
होइन पागल प्रलाप
तर युग निमन्त्रणाको प्रतापले भत्किरहेछन् क्रमशः
राजतन्त्र
राजतन्त्र
राजतन्त्र
र राजतन्त्रका प्रत्येक दरबारहरू ⁄
nepalikavita.com






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here